Tuesday, October 8, 2019

नाति


नाति

सरण राई

निस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु ।  आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ ।
हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।
वृद्धावस्था !
वृद्धावस्थामा  शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहा जस्ता रहेछन् ।
पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनु पर्ने । पाउनुपर्ने नयाँ प्राप्ति केही छैन, सामर्थ्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलबैंस, आँट, जाँगर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन ! ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा ! यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहाँ कोही पनि जिउँदाहरूले सदैव बाँचिरहन पाउदैनन् । मृत्युले सब जिउँदाहरूलाई निल्छ, निल्छ । मृत्युको पूर्वआभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरीन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउँ खाली गर्नै पर्छ ।
फेरि एक जन्म वा अर्को थप एक जीवन बाँच्न पाए.... म कल्पिन्छु । तर कसैले दुइ जीवन बाँच्न पाएका छन् र ? म पनि डाँडाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि ...जानै पर्छ ।
अजङ्गको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसितत्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आँ..आँ..’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउँछ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अँध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आफ्नो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्बित रूप आÏनै नातिको अनुहारमा ।
नाति !
मेरै जीवनको क्रमिकता होइन र ? म पछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति....मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउँछ्र । आँसु आँखामा बिलाएर जान्छ । बुबाको रूपबाट म आफू र म आफूबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई ...। म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।
नाति ! केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एकजना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउँने कुरा उनले आफ्नो संस्मरणमा लेखेका छन् । तर वास्तविक रूपमै नातिनातिनाहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।
मलाई नातिनी बारम्बार भन्छे, “कोपा, कोपा (बाजे,बाजे) !” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनीहरूको अवोध बाल संसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्ष अगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूसँग खेल्दा स्वस्फूर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दोरहेछु, नातिनातिनीहरूको अबोध बाल संसारमा युवाहरूजस्तै गाउँदै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनाहरू सॉच्चै मायालाग्दा छन्, यसैले मानिसहरूले ‘सावाको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् ।
म मेरा नातिनातिनाहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु ।  तिनीहरूलाई जब मेरा छोराबुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोराबुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा सहारा पाएर मेरो छातीमा टाँसिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आफ्नै रोग, शोक, पीडा र आफ्नो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हु“ जसको कोपिलाजस्ता नातिनातिनाहरू छन् ।
समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ? म ती मसिना नातिनातिनीहरूसँग अनन्त कालसम्म खेलिरहूँ, तिनीहरू त्यत्रै रहिरहुन् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रीडा सदैव रहिरहोस् । तिनीहरू सधैं मसँग खेलिरहून् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हुँदैन ।
हामी बाजे बोजु तिनीहरूलाई देख्दा अग्घोर खुसी हुन्थ्यौँ । सम्पूर्ण सांसारिक दुःख कष्ट बिर्सन्थ्यौँ र तिनीहरूका लागि अनेकौ‘ दुःख कष्ट झेल्न तयार थियौँ । समयक्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनीहरूको मुख हेर्दै सहेँ । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लोएक्लो हुँदै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलिमली र हैकम पनि समाप्त हुँदै गएको छ, मेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्राय घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।
कुनैकुनै बेला साथीहरू आउनेजाने गर्थे । घरमा मेरा साथीभाइहरूको उचित सम्मान, मान र आतिथ्यता हुन छाडेको छ जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरूकहाँ जान छाडेको छु । मलाई लाग्छ, पहिला जस्तो मेरो पनि अरुको पाहुना हुँदा खातिरदारी, स्वागत सत्कार हुन छाडेको छ र म आफ्नो कोठाको एकान्तमा बस्न अभ्यस्त भइसकेको छु ।
जाने पनि कहाँ ? गर्नै पो के सक्छु र ? म चाहन्छु आफूले हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अझै हरप्रकारले मद्दत गरुँ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु  कैयौँ दसक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्या समाधानका उपाय, सल्लाह, सुझावहरू दिएर  पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकूँ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहदैनन्, ‘उहिलेको कुरा खुइले’ । म उपयोगिताविहीन बूढो, मेरा सल्लाह सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला ।
घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । महँगीको जमाना तैपनि केही तडकभडक गर्नै पर्यो । साथीभाइहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी,  टेलिभिजन च्यानल महशुल, स्कुलको शुल्क आदि अनेकौ‘ खर्चहरू...मलाई पनि थाहा छ, धानी सक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहन बाहेक म के नै गर्न सक्छु र ?
घरखर्च चलाउने देखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूसँग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर पुस्तकहरू दोहोर्याइ तेहर्याइ पढ्छु । कथा बुझ्न थालेकी नातिनी आइभने दन्त्यकथा, पञ्चतन्त्र, जातक र इसपनीतिका कथाहरू सुनाउँछु । कथा सुनाउँदा मलाई अग्घोर आनन्द आउँछ । कथाको प्रवाह मेरो खोकिले बीचबीचमा रोकिँदा भने नातिनी नियास्रो मान्छे ।
“कोपाको छेउमा धेरै नजा, खोकि र अरु रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुने झैँ गर्छु । प्रतिकार गर्ने सामर्थ्य मसँग अब रहेन ।
“म घरमै बस्छु, कोपालाई छोडेर जान्न“ ।” चिच्याइरहेकी थिई नातिनी । झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ्ग स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो आँखा टलपलाउछ, कठै... मेरो सानी साथी नातिनी पनि मसँग छुट्टिएर गई ।
नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ । मेरो पुरानो पुस्तक कपि च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उसँग खेल्दा, बस्दा र हाँस्दा प्राप्त हुने आनन्दको अगाडि  केही होइन । ऊ मसँग बस्छ, खेल्छ र हाँस्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मसँग हुँदा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मसँग बसिरहोस्, खेलिरहोस् । ऊसँग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बाँचेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।
छोरालाई बोलाएर हामी दुइका बिभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुइको ‘मूभि’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइ देओ ।”
“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकै चोटि  ‘प्रिन्ट’ गरौला“ ।”छोराको जवाफ हुन्छ । तर ती तस्विरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।
समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन प्रंतिदिन झन्झन् ओरालो लागिरहेको हुन्छ । म हिजो भन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, असक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हाँसखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्लेग्र्रप’मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टिको दिनमा मात्र केही बेर ऊसँग खेल्न पाउँछु । ऊसँग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।
एकदिन अकस्मात मेरो निम्ति नयाँ पोसाक लिएर छोरा बुहारी मेरो कोठामा आउँछन् । मलाई “नयाँ पोसाक ठीक भयो, भएन” लगाएर जॉच्न भन्छन् । म फुरुक्क पर्छु,, फुरुङ्ग हुन्छु मेरो पनि छोराबुहारीले ध्यान दिन थालेछन् ।
“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानव संसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरा भन्छ ।
    “बुबाको थोरै आउने पेन्सनले मात्र त्यहा शुल्क तिरेर बस्न अपुग हुने भएकोले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौ“ । सबै बन्दोबस्त मिलाएका छौ“ ।”बुहारी थप्छे ।
“म नोकरीको सिलसिलामा कहिले कहाँ कहिले कहाँ गइरहनु पर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छिन् । घरमा बुबाको सह्यार सम्भार गर्ने मान्छे हुँदैन । ‘मानव संसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला गरियो । भोलिदेखि नैै बुबाले त्यहाँ बस्नु पर्छ, हामी तपाईँलाई बिहानै पुर्याइ दिनेछौ“ ।” छोराको आदेश ।
कति सजिलै भने उनीहरूले । नयाँ लुगाको अर्थ खुल्यो । म छाँगाबाट खस्छु । अब मैले पनि यो घर छोड्नै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले  उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र १२ रेक्टर स्केलको भुइचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।
अहा, यो घर, यो कोठा ! हामी(पत्नी र म)ले कस्तो परिश्रम गरेर आफ्नो र पत्नीको रुचि अनुसार यो घर निर्माण गरेका थियौँ । यही घरमा हामीले छोराछोरी हुर्कायौँ । उनीहरू आज स्वावलम्वी भएका छन् र मलाई आफ्नो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि ? अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डि कस्न सक्तिनँ । छोराबुहारीको आदेश शिरोपर गर्नु बाहेक मसँग अर्को उपाय छैन ।
यो मेरो घर, मेरो कोठा, मेरो पलङ ! भोलिदेखि मसँग यी केही पनि रहने छैनन् । म यो घरमा हुनेछैन । कैयौं दसक सुखदुःखसाथ पत्नीसँग बिताएको यो पलङ मसँग हुनेछैन । कठै, जीवितावस्थामा रहेको बेला पत्नीलाई मुसारेझैँ कोठाका भित्ता, पलङको छेउ कुना सबसब सुम्सुमाउछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको आँखाले सबैलाई हेरेझैँ मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । आँखाबाट आँसुको भेल बग्छ तर यो आँसुको के मूल्य छ र ? कोठाका सबै बस्तुहरूलाई छाम्छु, छुन्छु, म्वाँइ खान्छु, अर्धविक्षिप्तझैँ ती सबलाई हेरेर भावविव्हल हुन्छु । म रातभर निदाउन सक्तिनँ, सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।
रातभर म मेरो र पत्नीको युगल तस्विर हेरेर गुनगुन कुरा गरिरहन्छु, “शोभना, यहाँको बास आजसम्म मात्र रहेछ, तिमी भाग्यमानी रहिछौ, यो कोठाको पलङमा मेरै काखमा प्राण त्याग्न पायौ । तर म ? तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो....।” यस्तै के के म शोभना जीवित भएझैँ उसको तस्विरसँग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्डाइएको हाम्रो युगल तस्विर झिक्छु र भोलि आफूसँगै लैजाने निधो गर्छु र तस्विरकी शोभनालाई भन्छु, “जहाँ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइन“, त्यहॉ हाम्रो तस्विरको कुनै इज्जत हुनेछैन ।”
मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ ।  बाबुले बुढो बाजेलाई डोकोमा बोकेर लगि भीरको टुप्पोबाट डोकोसँगै बाजेलाई फाल्न लाग्दा नातिले ‘डोको चाहीँ नफाल्नुहोला, त्यो डोको मैले पछि तपाईँलाई फाल्न काम लाग्छ’ भनेको थियो  र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बाँचेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौ“ ।”
बिहानै म नयाँ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ्गस्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडिमा राखिसकेपछि छोराबुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की– फर्की घर हेर्छु तर मेरो धित मर्दैन । पूरै जीवन बिताएको यो घरसँग छुट्टिनु पर्दा मन भक्कानिएर आउँछ ।
मृत्युमा सबसँग छुट्टिनु पर्छ । तर मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नु पर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबसँग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउँदो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सबसब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झैँ सब मसँग छुट्टिदै छ ।
“बिदा, मलाई र मेरो परिवारलाई आस्रय दिने घर बिदा ! मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई शुभ्यफाव्य होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।
“छोरा, मलाई  नातिसँग बसेर खिचेको हाम्रो तस्विर देऊ ।”
“किन चाहियो तपाईँलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाङ्ने ठाउँ हुँदैन । तपाईँलाई भेटन नातिनातिनीहरू आइरहने छन् नि ।”
अब मेरो तस्विर टाङ्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्विरको खॉचो छैन । म गाडीमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साच्चै मलाई भेट्न मेरो नाति त्यहाँ आउँछ ?”



गरिमा  २०६८,असोज ,(पहिलाे पल्ट प्रकाशित)
अन्तिम आयाम  (कथासङ्ग्रहमा  सङ्गृहित )

Tuesday, January 5, 2016

जापानिज कथा बोक्को–चाङ

(मलाई मन परेको कथा साथीहरुका लागि )
जापानिज कथा
बोक्को–चाङ
होसी सिन्इचि

त्यो रोबट राम्ररी बनाइएको थियो । रोबट केटी थिई । कृत्रिम भएकोले जति पनि सुन्दर बनाउन सकिन्थ्यो । सुन्दर स्त्रीको सम्पूर्ण तत्वलाई लिएको हुनाले रोबट पूर्ण सुन्दरी बनी । हुन त अलिकति स्वाँगीजस्ती देखिन्थी ; तर स्वाँगी हुनु सुन्दरीमा हुनुपर्ने एक लक्षण पनि त हो ।
अरु कसैले रोबट बनाउने आँट गरेनन् । मान्छेजस्तै चल्ने रोबोट बनाउनु मूर्खता हो, किनभने त्यस्तो चीज बनाउने पैसा भए अझ उच्च सशक्त यन्त्र बनाउन सकिन्थ्यो र काम खाेजिरहेकाहरू जति पनि थिए ।
त्यो सौखले बनाइयो । बनाउने बारको मास्टर थियो । बारको मास्टर भन्ने जातिलाई घरमा बस्दा रक्सी खान मन लाग्दैन । उसका लागि रक्सी ब्यापारको साधन मात्र थियो र ऊ आफैले पिउनु हुन्छ भन्ने कुरा कहिल्यै सोचेन । पैसा कमाउन रक्स्याहाहरू छँदै थिए र समय पनि थियो । त्यसैले उसले रोबट बनायो । यो पूर्णरूपले उसको सौख थियो ।
सौख भएकाले नै सूक्ष्म र सुन्दर बनाउन सक्यो । सक्कली छालाजस्तो भएकाले यो रोबट नै हो भनेर पत्ता लाग्दैनथ्यो । बरु यसो हेर्दा साधारण खालको सक्कलीभन्दा अझ उच्च स्तरको थियो ।
तर दिमागचाहिँ झनै खोक्रोजस्तै थियो । उसले त्यो  कुरामा चाहिँ राम्रो बनाउन सकेको थिएन । सजिला प्रश्नको मात्र उत्तर दिन सक्थ्यो र रक्सी खानुसिवाय अरु केही गर्न सक्दैनथ्यो ।
उसले त्यसलाई बनाइसकेपछि बारमा राख्यो । त्यो बारमा टेवुल सिट पनि थिए तर रोबोटले धोखा नदेओस् भनेर त्यसलाई काउन्टरभित्र राखियो ।
नयाँ केटी देखेर ग्राहकहरूले उससँग कुरा छाँट्न थाले । नाम र उमेर सोधिएमा मात्र ठीक उत्तर दिन्थ्यो तर त्यसबाहेक अरु केही सोधे खतम; तैपनि कसैले रोबोट हो भनि पत्ता लगाउन सक्दैनथे ।
“नाम के हो ?”
“बोक्को– चाङ ।”
“उमेर कति हो ?”
“अहिले त तरुनी नै छु ।”
“कति भो भन्या ?”
“अहिले त तरुनी नै छु ।”
“होइन भन्या !”
“अहिले त  तरुनी नै छु ।”
यो पसलका ग्राहकहरू भलादमी थिए र कसैले योभन्दा बढ्ता सोद्धैनथे ।
“राम्रो लुगा छ नि ।”
“राम्रो लुगा छ हगि ?”
“तिमीलाई के मन पर्छ ?”
“मलाई के मन पर्छ होला ?”
“जीन–फीज पिउँछ्यौ ?”
“ जीन–फीज पिउँछु ।”
रक्सीचाहिँ  जति पनि पिउँथ्यो र अलिकति पनि मात्दैनथ्यो ।
सुन्दर, तरुनी, स्वाँगी र उत्तर ठन्डा । ग्राहक एक कान दुई कान गरेर यो पसलमा आउँथे । बोक्को–चाङसँग कुरा गर्थे, रक्सी खाई बोक्को–चाङलाई पनि रक्सी ख्याउँथे ।
”ग्राहकमध्ये को मन पर्छ ”
”को मन पर्छ होला ?”
”म मन पर्छु ?”
“तपाईँ मन पर्छ ।”
“चलचित्र हेर्न जाऔ न ।”
“चलचित्र हेर्न जाऔ ।”
“कहिले जाऔ त ?”
उत्तर दिन नसके संकेत मास्टरकहाँ आउँथ्यो र मास्टर आइपुग्थ्यो ।
“यसलाई धेरै नजिस्काउनोस् है ।”
यसो भन्यो भने धेरैजसो प्रसङ्ग मिल्थ्यो र ग्राहक ङिच्च हाँसेर कुरा गर्न बन्द गर्थे ।
मास्टरले कहिलेकाही थ्याच्च बसेर बोक्को–चाङको खुट्टातिरको प्लास्टिक पाइपबाट रक्सी जम्मा गरेर फेरि ग्राहकहरूलाई खुवाउँथ्यो ।
तर ग्राहकलाई थाहा भएन । तरुनी भए पनि स्थिर स्वभावकी रहिछे । चिप्लो घस्दिन, रक्सी खाए पनि मात्दिन । त्यसै कारणले बोक्को–चाङका लोकप्रियता झन्झन् बढ्दै गयो र त्यहाँ आउनेहरू पनि बढ्दै गए ।
तीमध्ये एक जना युवक थियो । बोक्को–चाङलाई मन पराएर सधैं आइरहन्थ्यो । पर्दामा हात टेकेजस्तै भएर पनि उसको प्रेम बढ्दै गयो । त्यसको फलस्वरूप बिल थुप्रिदै गयो र तिर्नै नसकिने भयो । अन्त्यमा उसले घरबाट पैसा ल्याउन चाहेको कुरा उसको बुबाले थाहा पाए र बेसरी गाली खानु प¥यो ।
“अब त्यहाँ कहिल्यै जानुहुँदैन । यो पैसा तिरेर आऊ तर यो नै अन्तिम पटक भयो ।”
ऊ पैसा तिर्न बारमा आयो । आज अन्तिम रात सम्झेर आफूले पनि खूब खायो र बिदाको चिनु भनी बोक्को–चाङलाई पनि धेरै ख्यायो ।
“म अब आउन सक्तिनँ ।”
“अब आउनु हुन्न ?”
“दुःख लाग्यो ?”
“दुःख लाग्यो ।”
“वास्तवमा होइन होला ?”
“वास्तवमा होइन ।”
“तिमीजस्ती निष्ठूरी अरु कोही छैन होला ?”
“मजस्ती निष्ठूरी अरु कोही छैन ।”
“मारिदिऊँ ?”
“मारिदिनोस् ।”
उसले खल्तीबाट औषधि झिकेर गिलासमा हाली बोक्को–चाङ अगाडि सार्यो ।
“पिउने होइन ?”
“पिउँछु ।”
उसले हेरिरहेको थियो र उसकै अगाडि बोक्को–चाङले पिई । उसले “मरे मरोस्” भन्यो र “मरे मर्छु” भन्ने आवाज सुन्दै मास्टरलाई पैसा दिएर बाहिर निस्क्यो । रात धेरै बितिसकेको थियो ।
युवक ढोकाबाहिर गएपछि मास्टरले बाँकी रहेका ग्राहकहरूलाई भन्यो — “अब म तपाईँहरूलाई निःशुल्क रक्सी पिउन दिन्छु । धमाधम पिउनुहोस् ।”
प्लास्टिक पाइपबाट झिकेको रक्सी खाइदिने ग्राहक पनि अब आउलाजस्तो नलागेकोले उसले निःशुल्क दिन्छु भनेको थियो ।
”वाह ! वाह !”
“राम्रो ! राम्रो !”
ग्राहकहरू र बारका केटीहरूले पनि टोस्ट गरे । मास्टरले पनि काउन्टरभित्र बसेर यसो गिलासलाई उचालेर खाइदियो ।
त्यो रात बारको बत्ती अबेरसम्म बलिरहेको थियो । रेडियोले सङ्गीत सुनाइरहेको थियो । ग्राहकहरू पनि फर्केका थिएनन् र पनि मानिसको आवाज बन्द भएको थियो ।
हुँदाहुँदै रेडियोले पनि “शुभरात्रि” भनेर आवाज दिन छोड्यो । बोक्को–चाङले पनि “शुभरात्रि” भनी र अब कसले आफूसित कुरा गर्छ भनेजस्तो गरी स्वाँगी अनुहार लाएर पर्खिरहेकी थिई ।
** ** **
“बोक्को–चाङ” बाट मे ‘७१
अनुवादः नोकु हाङहितो
साभारःसमकालिन साहित्य, पुर्णाङ्क ६,(वैशाख, जेठ,असार २०४९)

Sunday, November 16, 2014

शान्ति धाम

शान्ति धाम
सरण राई



         अवकाश प्राप्त जीवनमा प्रवेश गरेपछि ‘साङ्लाले बाँधेको कुकुर छाडेँ है’ भने झैँ  कताकता मनभित्र फुक्काफाल भएको अनुभुतिकासाथ बेचैनी, मनको छटपटाहट, जीवनको अवसान नजिक पुगिएको आभास हुनुका साथै काम नलाग्ने ‘डेट एक्स्पायर्ड’ भएजस्तो पनि लाग्न थाल्दो रहेछ । मानिसलाई सबै भन्दा प्यारो के होला ? प्रश्न ग¥यो भने सतप्रतिसत उत्तर आउला— आफ्नै जीवन । ‘जीउ रहे ध्यू खान पाइन्छ’, जीवन रहे मात्र जगतको उपभोग र उपयोग गर्न पाइने हो ।
मन बरालिन थाल्छ, कम्प्युटरमा खेल्न र खेलाउन थाल्छु मनलाई । ‘फेसबुक’मा एउटा सञ्जाल रहेछ ‘बुद्ध नेपालमा जन्मेका हुन्, सहमति जनाउनुहोस् ।’ मैले पनि तुरुन्तै सहमति जनाएँ । अन्य चिनेको नामहरू सहमति जनाउनका लागि टिपाएँ । बुद्धको जन्म स्थलमा के छ ? ‘किन बुद्ध नेपालमा जन्मेको तथ्यलाई तोडमरोड गरिदै छ ?’ भन्ने तथ्यले मलाई लुम्बिनीतर्फ आकर्षित गर्छ ।
...
लुम्विनी !
युवाकालमा पुगेको त्यस क्षेत्रको रूप पुरै बद्लिएको रहेछ । त्यतिबेला लुम्बिनीको नाम चलेको थिएन । इतिहासमा मात्र बुद्ध जन्मेको लुम्बिनी भन्ने पढ्न पाइन्थ्यो । सयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमणपछि मात्र लुम्बिनी चम्केको हो । सुनौलीदेखि बुटवलसम्म नै झन्डैझन्डै जोडिइसकेको रहेछ । बुटवल,खसौली कहाँ ? ठिम्याउन नै मुस्किल । विचरा, सर्वसाधारण गरिब नेपाली म; आफ्नै देशको भैरहवा  हुन् ? होइन, फुलहरू महान्हरूको गोडामा न्यौछावर हुन बनिएका हुन् । र, फुलहरू महान् हुन् ।
....उनलाई देखी हिँँडिराख्नेहरू अडे, अडेकाहरू पछि पछि लाग्न थाले; लम्कदै गर्नेहरू सुस्तरी हिँडे, बसि राख्नेहरू उठे; भड्किलो बस्त्रवालाहरू लजाए, बकवक गर्नेहरू मौन भए; प्रत्यक्ष धर्मजस्तो उनको नजीकमा अन्याय बुद्धि कसैको भएन ।
कौसी, बार्दलीमा बसेका मानिसहरू पुष्पवृष्टी गरिरहेका छन् । सडक पुष्पमय भएको छ, वातावरण उल्लासमय, रमणीय र मुग्धकारी भएको छ । प्रेम, प्रेम, प्रेम ! सबैको मनमा प्रेम छ । गौतम बुद्धप्रति प्रेम छ । बुद्धका मनमा पनि सबैप्रति प्रेम छ । प्रेमले ओतपोत शान्ति सबैको मन र मुहारमा व्यप्त छ । प्रेम तीर्थ ....



पुरा कथा  पाँचपोखरी प्रकाशन गृह , न्युरोड बाट प्रकाशित  कथा सङ्ग्रह  "अन्तिम आयाम "मा हेर्नुहुन अनुरोध छ
पाँचपोखरी प्रकाशन गृह , न्युरोड काे फाेन नं. ०१ ४२२१६३४, ०१ ४२२३५७५



Wednesday, November 5, 2014

(कथा ) ईश्वरको न्याय

(कथा )
ईश्वरको न्याय

समरसेट माम
अनुवादक : सरण राई


मरिसकेका ती तीनजनाको आत्माहरू ईश्वरको अगाडि न्यायको प्रतीक्षामा उभिरहेका थिए । ईश्वरले केही बेर तिनीहरूलाई ध्यान दिएनन् । साँच्चै भन्ने हो भने उनी झर्किएका र दिक्क भएका थिए ।
केही बेर अघि एउटा विश्वप्रशिद्ध बुढा दार्शनिकको आत्मा उनको सामुन्ने न्यायको लागि ल्याइएको थियो, त्यसले आउनासाथ भनेको थियो, “मलाई तिमीमा विश्वास छैन ।” यो कुराले ईश्वरलाई कुनै असर गर्दैनथ्यो होला, बरु जवाफमा उनी हाँसिदिन्थे होला तर दार्शनिकले पृथ्वीमा भयरहेको युद्ध र मारकाटको चर्चा गर्दै इश्वरसँग सोधेको थियो, “यो कसरी भन्न सकिन्छ कि तिमी सर्वशक्तिमान र सर्वकृपालु छौ र ? बेशक शैतानको अस्तित्व अस्वीकार गर्न सकिदैन तर तिमी उसलाई कुकर्म गर्न रोक्न सक्तैनौ भने तिमी सर्वशक्तिमान होइनौ र यदि रोक्न सक्छौ र रोकिरहेका छैनौ भने तिमी सर्वकृपालु छैनौ ।”
यो तर्क ईश्वरको लागि नयाँ थिएन, र उनले सधै यस कुराको विचार गर्न चाहेनन्, किनकि सर्वज्ञानी भएर पनि यस प्रश्नको जवाफ उनीसँग थिएन । दार्शनिकको भनाइअनुसार उनी ईश्वर भएर पनि दुई र दुईको जोड पाँच बनाउन सक्तैनथे ।
“हो, मलाई यस्तो ईश्वरमा विश्वास छैन” दार्शनिकले अन्तमा भनेको थियो, “जो सर्वशक्तिमान र सर्वकृपालु छैन ।”
ईश्वरले केही बोलेका थिएनन् ।
आखिर उनले ती तीन आत्माहरूलाई हेरे, जो कुनै आशामा अत्यन्त विनीत भावसँग उनका अगाडि उभिएका थिए ।
उनीहरूमध्ये एक आत्मा जाँनको थियो, दोस्रो मेरीको, र तेस्रो रूथको । उनीहरूले आफ्नो आफ्नो कथा सुनाए ।
जाँन र मेरी पाँच वर्षदेखि विवाहित थिए र सुखद दाम्पत्थ जीवन बिताइरहेका थिए । उनीहरूमा एकआपसमा प्यार थियो । तब जाँनको भेट रूथसँग भयो, जो अठार वर्षकी अतीव सुन्दरी, लावण्यमयी युवती थिई । जाँन उसलाई देख्नासाथ उसँग मोहित भयो । रूथको मनमा पनि उसको लागि प्यार पलाउन थाल्यो । यी दुईको त्यो प्रेम साधारण प्रेम थिएन । त्यो सुधबुध हराउने खालको प्रेम थियो । तर केही समयपछि ती दुवै सम्भालिए र उनीहरूले समाज र त्यसका मान्यताहरूबारे सोचे । जाँनलाई लाग्यो कि ऊ कसरी एक मासुम केटिलाई धोका दिन सक्छ र? र रूथले सोचिन् कि उसले किन एक विवाहित पुरुषसँग नाता गाँस्ने ? तब उनीहरूलाई यो महसुस भयो कि मेरीलाई उनीहरूको प्रेमबारे थाहा भएको छ ।
हो, मेरीलाई उनीहरूबारे थाहा भएको थियो । तब उसको मनमा आफ्नो पतिप्रतिको विश्वास र प्रेम अडिग भइ रहन सकेन, र उसको मनमा इष्र्या उब्ज्यो, जसको उसले कहिल्यै आशा गरेको थिइन, साथै उसको मनमा डर उब्जन थाल्यो कि कतै उसलाई लोग्नेले छाडोस् ? रिस उठ्न थाल्यो, किनकि उसको दिलको सम्पत्ति लुटिदै थियो, र उसको मनमा अनौठो भोकजस्तो उब्जन थाल्यो, जसले प्रेमभन्दा बढि पीडा दिने खालको थियो । उसलाई लाग्यो कि यदि उसलाई लोग्नेले छाड्यो भने ऊ मर्नेछे । तापनि उसलाई थाहा थियो कि जाँनले रूथसँग जानीजानी प्रेम गरेको थिएन बरु जाँनको रूथसँग आफसेआफ प्रेम भएर प्रेम गरेको थियो । त्यसकारण् उसको नजरमा जाँनको दोष थिएन । ऊ शक्तिको लागि इश्वरसँग प्रार्थना गर्थी र एकान्तमा एक्लै चुपचाप रोइरहन्थी । उसको स्वास्थ बिग्रिदै गयो ।
जाँन र रूथ यो सबै हेरिरहेका थिए । उनीहरूको मनभित्र सङ्घर्ष चलिरहेको थियो, जो लामो र पीडादायी सङ्घर्ष थियो । कैयौ पल्ट उनीहरूको मन डावाडोल हुन्थ्यो तर पनि उनीहरू त्यो प्रेमबाट मुख फर्काउन सक्तैनथे, जुन उनीहरूको मनमा सल्किरहेको हुन्थ्यो । उनीहरूले पापसँग सङ्घर्ष गरे र अन्तमा बिजय पाए । आखिर टुक्रिएको मनकासाथ आफू निर्दोष भएकोमा गर्व गर्दै ती दुई एक अर्कादेखि छुट्टिए ।
रूथले यति हदैसम्मको प्रेम गरेकी थिई कि उसले फेरि कसैसँग प्रेम गर्न सकिन, र आफ्नो मुटु पत्थर बनाएर इश्वरमा समर्पित भई परोपकार कार्यमा लागिन् । उसले रोगीहरूको सेवा गरिन् र गरिबको सहायता गरिन् । उसले अनाथालय खोलिन् र दीन हीनहरूको सहायता गर्ने संस्था स्थापना गरिन् । बिस्तारै बिस्तारै उनको सुन्दरता, जसबाट ऊ विमुख भएकी थिर्इृ, हराउदै गयो र उसको अनुहार पनि मनजस्तै पत्थरको भयो । तब उसको धर्म अरु बढि भयानक बन्यो, किनकि त्यसको आधार प्रेम नभएर तर्क थियो । साथै ऊ पनि निरङ्कुश र असहनीय भई ।
यसका साथै जाँन पनि अन्तरमन भित्रभित्रै दुःिख भएर मृत्यु पर्खिरहेको थियो । उसको निम्ति अब बाँच्नुका कुनै अर्थ थिएन । बिजेता बन्ने प्रयत्नमा उसको हार भएको थियो । अब उसको पत्नीप्रति घृणभाव मात्र रहेको थियो ,जसले उसलाई सधै बेचैन बनाउथ्यो । तापनि ऊ उसँग आदर र सहानुभूतिका साथ व्यवहार गथ्र्यो र उसको निम्ति एक पतिले गर्नुपर्ने सबैकुरा गथ्र्यो जो एक असल पतिको कर्तव्य हुन्थ्यो ।
मेरीले पनि एक सुशील, विश्वसनीय पत्नीको रूपमा आफ्ना पतिलाई साथ दिई । तर पनि उसले उसलाई क्षमा दिन सकिन । ऊ झर्किने र झगडालु स्वभावकी भई । ऊ पतिलाई यस्तो घोच्ने कुराहरू भन्थी जसको लागि ऊ आफैलाई पनि घृणा गर्थी । ऊ आफ्नो पतिको लागि ज्यान त्याग्न सक्थी तर अब यस्तो सोच्न उसका लागि असह्य थियो, किनकि ऊ असह्य यातना सहिरहेकी थिई जबकि जाँन कसैसँग प्रेमका आनन्द लिइरहेको थियो । तर अब उसको निम्ति मात्र होइन जाँन र रूथको निम्ति पनि जीवन निरस भइसकेको थियो र बितेको कुरा सकिइसकेको थियो । उनीहरूले पाप गरेका थिएनन् र पनि अब मरिसकेपछि आफ्नो कर्मको फल भोग्न प्रतीक्षामा उभिरहेका थिए ।
आफ्नो कथा सुनाइसकेपछि उनीहरू चुप लागे पनि चारैतिर स्तब्धता छायो ।
तब इश्वरले भन्न खोजे “जहन्नुममा जाऊँ !” तर यो शब्द उनको मुखबाट निस्केन । तब उनको आँखीभुइ खुम्चियो र उनले आफैसित सोधे ? के यसैको निम्ति सुर्यलाई अनन्त समुद्रमा प्रकाश गर्नु र बर्फको पहाडहरूमा चम्कनु भनेर भन्छु र? के यसैको लागि पहाडहरूमा बग्ने झरना खुशीले गाउँछ र साझको हावाले सुनौलो बालीनाली लहलहराउछ ?.... कहिले कही म सोच्छु कि तारा पोखरीको मैला पानीमा कति बढि चम्किन्छ !
त्यो समय तीनै आत्माहरू, आफ्नो दुःखले भरिएको कथा सुनाइसके पछि, केही हदसम्म सन्तोष अनुभव गरिरहेका थिए । उनीहरूको जीवन सङ्घर्ष अत्यन्त तनावपूर्ण थियो तापनि उनीहरूले आफ्नो कर्तव्य पूरा गरेका थिए ।
तब ईश्वरले बिस्तारो फुके जसरी मानिसहरू मोमबत्ति निभाउन फुक्छन् र त्यतिबेला नै ती तीनैवटा आत्माहरू गायब भए । यसप्रकार इृश्वरले उनीहरूलाई नष्ट गरि दिएका थिए ।
तब ईश्वरले भन्यो, “म कैयोंपल्ट यो सोचेर हैरान हुन्छु कि मानिसहरू किन यस्तो सम्झन्छन् कि म अनैतिक सम्बन्धहरूलाई यति महत्व दिन्छु । वास्तवमा मानिसहरूको यो कमजोरीलाई सधैं सहानुभूतिका साथ हेर्छु ।”
त्यसपछि उनले दार्शनिकतिर नजर फर्काए, जो आफ्नो प्रश्नको उत्तरको प्रतीक्षामा अहिलेसम्म उभिरहेका थिए , र भने :
“ तिमीले मान्नु पर्छ कि यो मौकामा मैले आफू सर्वशक्तिमान र सर्वकृपालु भएको प्रमाण पेश गरेको छु ।”

 
 * **


(नवनीत वर्षः ३२अङ्कः१२, दिसम्बर,१९८३ बाट अनुदित, २०७०जेठ २७)
http://kathaasansaarblogspot.com/

Wednesday, September 10, 2014

(लघु कथा) सर्वोत्कृष्ट कथा

(लघु कथा)
सर्वोत्कृष्ट कथा

सरण राई

मैले एउटा उत्कृष्ट कथा लेखेको छु । म त्यसलाई सर्वोत्कृष्ट कथा बनाउन चाहन्छु ।
मुड बन्नासाथ कम्प्युटरमै म त्यस कथाको परिमार्जन गरिरहन्छु । शब्दहरू मिलेन जस्तो लाग्छ, फेर्छु । कुनै बेला वाक्य नै बदल्छु । घटनाहरू बदल्छु । कागलाई मुजुरको प्वाँख लगाइदिए जस्तो हुन्छ ।
हेर्छु, चित्त बुझ्दैन । अर्को टाइप गर्छु । गम्छु— ‘अब मिल्यो ?’
‘अहँ, मिलेन ।’
म फेरि सुधार्छु । पढ्छु, गम्छु— ‘यो त जीवनको कथा भएन ।’
टाइप गरी सकेर 'माइक्रोसफ्ट वर्ड' बन्द गर्छु । कम्प्युटर सोध्छ ‘सेभ’ गरौ ? ‘येस’, ‘नो’ ।
म ‘नो’ छान्छु । घण्टौ लगाएर गरेको परिमार्जन नष्ट हुन्छ । फेरि परिमार्जन गर्छु । फेरि ‘नो’ छान्छु । यसरी यो कथाको परिमार्जन क्रम कहिल्यै नसकिने जस्तो छ । परिमार्जन नसकिएपछि प्रकाशित हुने कुरा भएन । त्यसै हुनाले सर्वोत्कृष्ट जीवनहरु झैँ यो सर्वोत्कृष्ट कथा हुनेछ ।

२०७१ साउन ३०, धरान

Friday, June 29, 2012

(बिश्व कथा) भेट–घाट

 समरसेट माँम
अनुवादक _ सरण  राई

बगदादमा एक ब्यापारीले आफ्नो नोकरलाई केही चिजहरू ल्याउन बजार पठायो । नोकर केही बेरमै दगुर्दै फर्क्यो र डरले काम्दै भन्यो— “मालिक, बजारमा एउटा आइमाई मसित ठोक्किएर गइन् । उसलाई हेर्न भनेर फर्किदा के देखँ भने ऊ काल हो । तब उसले मलाई धम्की दियो । ...त्यसकारण अब मलाई कृपा गरेर आफ्नो घोडा दिनुहोस, जसले गर्दा त्यसमाथि चढेर यहाँबाट भाग्न सकूँ र छिटोभन्दा छिटो समरा पुग्न सकूँ, जहाँ कालले मलाई खोज्न नसकोस् ।”
ब्यापारीले उसलाई घोडा दियो । नोकर त्यसमाथि चढेर समरातर्फ भाग्यो ।
ब्यापारी बेलुकि बजारमा गयो । त्यहाँ काललाई उसले त्यही आइमाईको रूपमा भेट्यो । उसले अगाडि गएर भन्यो—“तिमीले मेरो नोकरलाई आज बिहान किन धम्की दियौ ?”
“त्यो धम्की होइन” कालले भन्यो— “मैले त उसलाई अलिकति तर्साएको मात्र थिएँ । उसलाई बगदादमा देखेर म छक्क परेको थिएँ, किनकि आज राती म उसित समरामा भेट्न गइरहेको छु ।”

'उत्थान ' वर्ष १ अङ्क १, २०३९


सरण  राईको कथा हेर्न --http://kathaasansaar.blogspot.com/

Sunday, February 12, 2012

ब्लाकबोर्ड ,चक र डस्टर

साझा प्रकाशनद्धारा प्रकाशित  ‘अन्तिम स्वीकारोक्ति” कथा सङ्ग्रहबाट

ब्लाकबोर्ड, चक र डस्टर

सरण राई

लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औँलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।
यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा  हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् ।
ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि जीवनजस्तै हो, सिङ्गो चक चेतनामा जीवित अर्थलाई यथार्थमा सजीवता दिन ब्लाकबोर्डमा घस्रिदाघस्रिदै छोटो हुन्छ । ज्यादै छोटो भएर लेख्न अप्ठ्यारो भएको टुक्रालाई मायालाग्दो दृष्टिले हेर्छ, मानौं त्यो धीत नमरीकनै फ्याँक्नुपरेको चुरोटको ठुटो हो । ऊ चकको टुक्रालाई फ्याँक्छ तर उसलाई  लाग्छ ऊ आफै पनि त्यो चकको टुक्राझैँ फ्याँकिएको छ ।
चक र उसले आफ्नै जीवनको तुलना गर्न खोज्छ— केही समानताहरू भएको महसुस गर्छ । चक जुन उद्देश्यको निम्ति सृष्टि गरिएको हो, त्यो पूरा भइसकेको छ तर उसको सृष्टि कुन उद्देश्यको निम्ति गरिएको हो, ऊ ठम्याउन सक्दैन । भविष्य, केवल सिङ्गो भविष्यप्रति आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा ऊ आफ्नो सृष्टिको छाया हेर्न खोज्दछ । ऊ ब्लाकबोर्डमा  उसैले लेखेको रेखाचित्र हेर्छ, ब्लाकबोर्ड, चक र डस्टर— ऊ ठम्याउन सक्तैन केका निम्ति उसको अन्त भइरहेको छ ?
कोठा, बिद्यार्थीहरू, झ्यालबाट बाहिर देखिने हरिया चउर, रुखहरू उसले बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन भएर हेरिदिन्छ । बगैचामा माली लगनसित फूलका बोटहरूलाई स्याहारिरहेको छ, गोडिरहेको छ । फूल सबैलाई प्यारो छ, तर फूलसित गाँसिएको गरिब मालीको श्रम र पसिना फूलको सौन्दर्यले ढाकिदिएको हुन्छ अनि फूलको बास्नामा मालीको पसिनाको गन्धआयो भने मानिसहरूलाई फूल राम्रो लाग्दो होला ? श्रेणीको एक छेउमा बिद्यार्थीहरूको खासखुस कुराकानी गराइले उसलाई श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ । श्रेणी उसको संसार हो, अझ उपयुक्त भाषामा उसको युद्धभूमि, उसका हतियार चक, डस्टर, ब्लाकबोर्ड र आवाज । बिद्यार्थीहरूको अज्ञानता उसको दुस्मन, बिद्यार्थीहरूलाई बुझाउन सक्नु उसको  विजय । ऊ फेरि पढाउन थाल्छ, पढाउन लाग्दा  उसलाई अनुभव हुन्छ— ऊ नेता हो, हजारौँ मानिसहरूलाई आफ्नो  विचारधारामा हिडाउने प्रयत्नमा  भाषण दिइरहेछ, पिता हो आफ्ना छोराछोरीलाई ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको छ । पूर्णताको अनुभव उसलाई त्यसबेला हुन्छ जुनबेला ऊ श्रेणीमा उभिएको हुन्छ ।
उसको हातमा चक र डस्टर हुन्छ, पछाडि ब्लाकबोर्ड र अगाडि ध्यानपूर्वक सुनिरहेका बिद्यार्थीहरू, ऊ पीडापूर्ण, अभावग्रस्त यथार्थ संसारभन्दा हजारौँ  कोस टाढा हुन्छ ।
“मलाई सरलाको जस्तै फ्रक ल, बुबा ।”
“मलाई नीलो प्यान्ट ।”
“त्यो डाक्टरले लेखिदिएको औषधी ल्याउन नबिर्सनुहोला नि ।”
फ्रक, प्यान्ट, औषधि, अनन्त आवश्यकताहरू । सीमित र निश्चित तलब, भौतिकवादी विश्वमा हरेक चीजलाई ठोस रूप दिन सक्नुपर्ने । आफ्नो जहानपरिवारलाई माया गर्दछ, त्यो मायालाई फ्रक, प्यान्टमा परिणत गर्न सक्नुपर्ने । घर फर्कदा रोगी श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा चिया पाक्ने कुरै उठेन, सुर्ती तमाखु ल्याएदिएन भनेर बूढो बाबु उस्तै ठुस्किएको, केटाकेटीको कुरै गर्नु परेन । पढाउनेको छोरो पढ्नै नसक्ने हो कि ? बुझेर पनि बुझ्पचाउनुपर्ने, जानेर पनि नजान्नुपर्नेछ उसको यथार्थ संसार ।
ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले मेट्छ । ऊ फेरि ब्लाकबोर्डमा लेख्न सक्छ अनि मेट्न सक्छ तर आफ्नो निधारमा लेखिएको भाग्यलाई मेट्न सक्दैन । श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई सरसरती हेर्छ—  मानौं ऊ त्यहाँ हराएको आफ्नो अस्तित्व खोजिरहेछ । कोही बिद्यार्थी नोट टिप्न तल्लीन छन् भने कोही झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका युवतीहरू हेर्नमा । ऊ सबैको ध्यानलाई अझ बढी आकर्षण गर्न अझ साह्रो कराउँछ, कराउने बानी भइसकेको छ, भटभटाउनु  र बरबराउनु । ऊ बौलाहाझैँ बरबराइरहेको छ । झरनाझैँ ऊ आफैले बोलेको  आफै बुझ्न सक्तैन कि झैँ गरेर । हाँसोको लहर फुट्छ सम्पूर्ण श्रेणीभरि, उसले आफूलाई जोकर अनुभव गर्छ । सतर्क हुन्छ— ऊ साँच्चै बौलाहा  त रहेको छैन । ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू दिदै जान्छ, भन्दै जान्छ, कराउदै जान्छ । ऊ आफ्नो आवाजको उच्चतम बिन्दुमा पुग्दा अनुभव गर्छ— ऊ र हाटबजारमा बिज्ञापन गर्दै कराउनेमा फरक छैन, छ भने दुईमा एउटा कोठाभित्र कराउँछ अर्को बीच बजारमा ।
बूढो शरीरमा कराउँदा रगतको सञ्चार भएर हो कि ऊ आफूलाई तन्नेरी अनुभव गर्न पुग्छ । ऊ फेरि आफ्नो बिद्यार्थीजीवनलाई सम्झन पुग्छ, बिद्यार्थीजीवनका उसका सहपाठीहरू कोही मन्त्री भए, काही डाक्टर, प्रशासकीय हाकिम, ऊ भने अझै बिद्यार्थीहरूकै माझ बिद्यार्थीजस्तै दुःखी छ । उसले पढाएको बिद्यार्थीहरूसमेत हाकिम भएका छन्, कैयौं तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही अवस्था छ ।
आज उसलाई बिद्यार्थीजीवनका उसका आकाङ्क्षाहरूको सम्झना आउँछ— कति अकासिएका उसका आकाङ्क्षाहरू थिए । मुटु च्वास्स दुख्छ तर अब त मुटुको रोग भइसकेको उसलाई मुटु दुख्नु साधारणझैँ लाग्छ । झ्यालबाट ऊ बाहिर हेर्छ, आकाश धुम्मिएको छ— पानी पर्ने सम्भावना छ ।
आफ्नो सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस गर्छ । यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने बिद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् । श्रेणीका सम्पूर्ण बिद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ, ऊ उनीहरूको भविष्य निर्माण गरिरहेको छ, ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर । उसले बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार छ, अन्यथा उसले बुझेको कुनै प्रयोजन छैन— उसलाई यो राम्ररी थाहा छ । ऊ कराउदै जान्छ, उसको घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् ।
घन्टी बज्छ । सधैंझैँ चक र हाजिरकापी हातमा चयापेर ऊ श्रेणीबाट बाहिर निस्कन्छ । उसलाई अनुभव हुन थाल्छ, उसको घाँटी सुकिरहेको छ— पानी खान्छ । ऊ आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ । पानी पर्ने सम्भावना छ तसर्थ सब मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् । तर जब उसलाई देख्छन्, सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ, केही खराबी त छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो छ, टकटकाउँट, सितिमिति कहाँ चकको धुलो झर्ने हो र ! ऊ सम्झन्छ फ्रक, पेन्ट र औषधी, गोजी छाम्छ रित्तो छ, उसले रित्तै फर्कनुपर्ने हो, रित्तै फर्कन्छ ।
उसलाई लाग्छ अझै मानिसहरू उसलाई हेरेर हाँसिरहेका हुन्छन्— मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको ऊ एउटा हाँसो उठ्दो कार्टुन हो वा ऊ सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको छ, जसळाई देख्दा जो पनि हाँस्छ, ऊ ब्लाकबोर्ड, चक र डस्टर....
मानिसहरूको कठोर आँखाबाट लुक्न ऊ अझ छिटोछिटो लम्कन्छ ।

स्पन्दन, अङ्क १, वर्ष १ (२०३४)मा पहिलोपल्ट प्रकाशित
सरण राईको कथा हेर्न --  http://kathaasansaar.blogspot.com/