Tuesday, January 5, 2016

जापानिज कथा बोक्को–चाङ

(मलाई मन परेको कथा साथीहरुका लागि )
जापानिज कथा
बोक्को–चाङ
होसी सिन्इचि

त्यो रोबट राम्ररी बनाइएको थियो । रोबट केटी थिई । कृत्रिम भएकोले जति पनि सुन्दर बनाउन सकिन्थ्यो । सुन्दर स्त्रीको सम्पूर्ण तत्वलाई लिएको हुनाले रोबट पूर्ण सुन्दरी बनी । हुन त अलिकति स्वाँगीजस्ती देखिन्थी ; तर स्वाँगी हुनु सुन्दरीमा हुनुपर्ने एक लक्षण पनि त हो ।
अरु कसैले रोबट बनाउने आँट गरेनन् । मान्छेजस्तै चल्ने रोबोट बनाउनु मूर्खता हो, किनभने त्यस्तो चीज बनाउने पैसा भए अझ उच्च सशक्त यन्त्र बनाउन सकिन्थ्यो र काम खाेजिरहेकाहरू जति पनि थिए ।
त्यो सौखले बनाइयो । बनाउने बारको मास्टर थियो । बारको मास्टर भन्ने जातिलाई घरमा बस्दा रक्सी खान मन लाग्दैन । उसका लागि रक्सी ब्यापारको साधन मात्र थियो र ऊ आफैले पिउनु हुन्छ भन्ने कुरा कहिल्यै सोचेन । पैसा कमाउन रक्स्याहाहरू छँदै थिए र समय पनि थियो । त्यसैले उसले रोबट बनायो । यो पूर्णरूपले उसको सौख थियो ।
सौख भएकाले नै सूक्ष्म र सुन्दर बनाउन सक्यो । सक्कली छालाजस्तो भएकाले यो रोबट नै हो भनेर पत्ता लाग्दैनथ्यो । बरु यसो हेर्दा साधारण खालको सक्कलीभन्दा अझ उच्च स्तरको थियो ।
तर दिमागचाहिँ झनै खोक्रोजस्तै थियो । उसले त्यो  कुरामा चाहिँ राम्रो बनाउन सकेको थिएन । सजिला प्रश्नको मात्र उत्तर दिन सक्थ्यो र रक्सी खानुसिवाय अरु केही गर्न सक्दैनथ्यो ।
उसले त्यसलाई बनाइसकेपछि बारमा राख्यो । त्यो बारमा टेवुल सिट पनि थिए तर रोबोटले धोखा नदेओस् भनेर त्यसलाई काउन्टरभित्र राखियो ।
नयाँ केटी देखेर ग्राहकहरूले उससँग कुरा छाँट्न थाले । नाम र उमेर सोधिएमा मात्र ठीक उत्तर दिन्थ्यो तर त्यसबाहेक अरु केही सोधे खतम; तैपनि कसैले रोबोट हो भनि पत्ता लगाउन सक्दैनथे ।
“नाम के हो ?”
“बोक्को– चाङ ।”
“उमेर कति हो ?”
“अहिले त तरुनी नै छु ।”
“कति भो भन्या ?”
“अहिले त तरुनी नै छु ।”
“होइन भन्या !”
“अहिले त  तरुनी नै छु ।”
यो पसलका ग्राहकहरू भलादमी थिए र कसैले योभन्दा बढ्ता सोद्धैनथे ।
“राम्रो लुगा छ नि ।”
“राम्रो लुगा छ हगि ?”
“तिमीलाई के मन पर्छ ?”
“मलाई के मन पर्छ होला ?”
“जीन–फीज पिउँछ्यौ ?”
“ जीन–फीज पिउँछु ।”
रक्सीचाहिँ  जति पनि पिउँथ्यो र अलिकति पनि मात्दैनथ्यो ।
सुन्दर, तरुनी, स्वाँगी र उत्तर ठन्डा । ग्राहक एक कान दुई कान गरेर यो पसलमा आउँथे । बोक्को–चाङसँग कुरा गर्थे, रक्सी खाई बोक्को–चाङलाई पनि रक्सी ख्याउँथे ।
”ग्राहकमध्ये को मन पर्छ ”
”को मन पर्छ होला ?”
”म मन पर्छु ?”
“तपाईँ मन पर्छ ।”
“चलचित्र हेर्न जाऔ न ।”
“चलचित्र हेर्न जाऔ ।”
“कहिले जाऔ त ?”
उत्तर दिन नसके संकेत मास्टरकहाँ आउँथ्यो र मास्टर आइपुग्थ्यो ।
“यसलाई धेरै नजिस्काउनोस् है ।”
यसो भन्यो भने धेरैजसो प्रसङ्ग मिल्थ्यो र ग्राहक ङिच्च हाँसेर कुरा गर्न बन्द गर्थे ।
मास्टरले कहिलेकाही थ्याच्च बसेर बोक्को–चाङको खुट्टातिरको प्लास्टिक पाइपबाट रक्सी जम्मा गरेर फेरि ग्राहकहरूलाई खुवाउँथ्यो ।
तर ग्राहकलाई थाहा भएन । तरुनी भए पनि स्थिर स्वभावकी रहिछे । चिप्लो घस्दिन, रक्सी खाए पनि मात्दिन । त्यसै कारणले बोक्को–चाङका लोकप्रियता झन्झन् बढ्दै गयो र त्यहाँ आउनेहरू पनि बढ्दै गए ।
तीमध्ये एक जना युवक थियो । बोक्को–चाङलाई मन पराएर सधैं आइरहन्थ्यो । पर्दामा हात टेकेजस्तै भएर पनि उसको प्रेम बढ्दै गयो । त्यसको फलस्वरूप बिल थुप्रिदै गयो र तिर्नै नसकिने भयो । अन्त्यमा उसले घरबाट पैसा ल्याउन चाहेको कुरा उसको बुबाले थाहा पाए र बेसरी गाली खानु प¥यो ।
“अब त्यहाँ कहिल्यै जानुहुँदैन । यो पैसा तिरेर आऊ तर यो नै अन्तिम पटक भयो ।”
ऊ पैसा तिर्न बारमा आयो । आज अन्तिम रात सम्झेर आफूले पनि खूब खायो र बिदाको चिनु भनी बोक्को–चाङलाई पनि धेरै ख्यायो ।
“म अब आउन सक्तिनँ ।”
“अब आउनु हुन्न ?”
“दुःख लाग्यो ?”
“दुःख लाग्यो ।”
“वास्तवमा होइन होला ?”
“वास्तवमा होइन ।”
“तिमीजस्ती निष्ठूरी अरु कोही छैन होला ?”
“मजस्ती निष्ठूरी अरु कोही छैन ।”
“मारिदिऊँ ?”
“मारिदिनोस् ।”
उसले खल्तीबाट औषधि झिकेर गिलासमा हाली बोक्को–चाङ अगाडि सार्यो ।
“पिउने होइन ?”
“पिउँछु ।”
उसले हेरिरहेको थियो र उसकै अगाडि बोक्को–चाङले पिई । उसले “मरे मरोस्” भन्यो र “मरे मर्छु” भन्ने आवाज सुन्दै मास्टरलाई पैसा दिएर बाहिर निस्क्यो । रात धेरै बितिसकेको थियो ।
युवक ढोकाबाहिर गएपछि मास्टरले बाँकी रहेका ग्राहकहरूलाई भन्यो — “अब म तपाईँहरूलाई निःशुल्क रक्सी पिउन दिन्छु । धमाधम पिउनुहोस् ।”
प्लास्टिक पाइपबाट झिकेको रक्सी खाइदिने ग्राहक पनि अब आउलाजस्तो नलागेकोले उसले निःशुल्क दिन्छु भनेको थियो ।
”वाह ! वाह !”
“राम्रो ! राम्रो !”
ग्राहकहरू र बारका केटीहरूले पनि टोस्ट गरे । मास्टरले पनि काउन्टरभित्र बसेर यसो गिलासलाई उचालेर खाइदियो ।
त्यो रात बारको बत्ती अबेरसम्म बलिरहेको थियो । रेडियोले सङ्गीत सुनाइरहेको थियो । ग्राहकहरू पनि फर्केका थिएनन् र पनि मानिसको आवाज बन्द भएको थियो ।
हुँदाहुँदै रेडियोले पनि “शुभरात्रि” भनेर आवाज दिन छोड्यो । बोक्को–चाङले पनि “शुभरात्रि” भनी र अब कसले आफूसित कुरा गर्छ भनेजस्तो गरी स्वाँगी अनुहार लाएर पर्खिरहेकी थिई ।
** ** **
“बोक्को–चाङ” बाट मे ‘७१
अनुवादः नोकु हाङहितो
साभारःसमकालिन साहित्य, पुर्णाङ्क ६,(वैशाख, जेठ,असार २०४९)

1 comment: