Sunday, November 16, 2014

शान्ति धाम

शान्ति धाम
सरण राई



         अवकाश प्राप्त जीवनमा प्रवेश गरेपछि ‘साङ्लाले बाँधेको कुकुर छाडेँ है’ भने झैँ  कताकता मनभित्र फुक्काफाल भएको अनुभुतिकासाथ बेचैनी, मनको छटपटाहट, जीवनको अवसान नजिक पुगिएको आभास हुनुका साथै काम नलाग्ने ‘डेट एक्स्पायर्ड’ भएजस्तो पनि लाग्न थाल्दो रहेछ । मानिसलाई सबै भन्दा प्यारो के होला ? प्रश्न ग¥यो भने सतप्रतिसत उत्तर आउला— आफ्नै जीवन । ‘जीउ रहे ध्यू खान पाइन्छ’, जीवन रहे मात्र जगतको उपभोग र उपयोग गर्न पाइने हो ।
मन बरालिन थाल्छ, कम्प्युटरमा खेल्न र खेलाउन थाल्छु मनलाई । ‘फेसबुक’मा एउटा सञ्जाल रहेछ ‘बुद्ध नेपालमा जन्मेका हुन्, सहमति जनाउनुहोस् ।’ मैले पनि तुरुन्तै सहमति जनाएँ । अन्य चिनेको नामहरू सहमति जनाउनका लागि टिपाएँ । बुद्धको जन्म स्थलमा के छ ? ‘किन बुद्ध नेपालमा जन्मेको तथ्यलाई तोडमरोड गरिदै छ ?’ भन्ने तथ्यले मलाई लुम्बिनीतर्फ आकर्षित गर्छ ।
...
लुम्विनी !
युवाकालमा पुगेको त्यस क्षेत्रको रूप पुरै बद्लिएको रहेछ । त्यतिबेला लुम्बिनीको नाम चलेको थिएन । इतिहासमा मात्र बुद्ध जन्मेको लुम्बिनी भन्ने पढ्न पाइन्थ्यो । सयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमणपछि मात्र लुम्बिनी चम्केको हो । सुनौलीदेखि बुटवलसम्म नै झन्डैझन्डै जोडिइसकेको रहेछ । बुटवल,खसौली कहाँ ? ठिम्याउन नै मुस्किल । विचरा, सर्वसाधारण गरिब नेपाली म; आफ्नै देशको भैरहवा  हुन् ? होइन, फुलहरू महान्हरूको गोडामा न्यौछावर हुन बनिएका हुन् । र, फुलहरू महान् हुन् ।
....उनलाई देखी हिँँडिराख्नेहरू अडे, अडेकाहरू पछि पछि लाग्न थाले; लम्कदै गर्नेहरू सुस्तरी हिँडे, बसि राख्नेहरू उठे; भड्किलो बस्त्रवालाहरू लजाए, बकवक गर्नेहरू मौन भए; प्रत्यक्ष धर्मजस्तो उनको नजीकमा अन्याय बुद्धि कसैको भएन ।
कौसी, बार्दलीमा बसेका मानिसहरू पुष्पवृष्टी गरिरहेका छन् । सडक पुष्पमय भएको छ, वातावरण उल्लासमय, रमणीय र मुग्धकारी भएको छ । प्रेम, प्रेम, प्रेम ! सबैको मनमा प्रेम छ । गौतम बुद्धप्रति प्रेम छ । बुद्धका मनमा पनि सबैप्रति प्रेम छ । प्रेमले ओतपोत शान्ति सबैको मन र मुहारमा व्यप्त छ । प्रेम तीर्थ ....



पुरा कथा  पाँचपोखरी प्रकाशन गृह , न्युरोड बाट प्रकाशित  कथा सङ्ग्रह  "अन्तिम आयाम "मा हेर्नुहुन अनुरोध छ
पाँचपोखरी प्रकाशन गृह , न्युरोड काे फाेन नं. ०१ ४२२१६३४, ०१ ४२२३५७५



Wednesday, November 5, 2014

(कथा ) ईश्वरको न्याय

(कथा )
ईश्वरको न्याय

समरसेट माम
अनुवादक : सरण राई


मरिसकेका ती तीनजनाको आत्माहरू ईश्वरको अगाडि न्यायको प्रतीक्षामा उभिरहेका थिए । ईश्वरले केही बेर तिनीहरूलाई ध्यान दिएनन् । साँच्चै भन्ने हो भने उनी झर्किएका र दिक्क भएका थिए ।
केही बेर अघि एउटा विश्वप्रशिद्ध बुढा दार्शनिकको आत्मा उनको सामुन्ने न्यायको लागि ल्याइएको थियो, त्यसले आउनासाथ भनेको थियो, “मलाई तिमीमा विश्वास छैन ।” यो कुराले ईश्वरलाई कुनै असर गर्दैनथ्यो होला, बरु जवाफमा उनी हाँसिदिन्थे होला तर दार्शनिकले पृथ्वीमा भयरहेको युद्ध र मारकाटको चर्चा गर्दै इश्वरसँग सोधेको थियो, “यो कसरी भन्न सकिन्छ कि तिमी सर्वशक्तिमान र सर्वकृपालु छौ र ? बेशक शैतानको अस्तित्व अस्वीकार गर्न सकिदैन तर तिमी उसलाई कुकर्म गर्न रोक्न सक्तैनौ भने तिमी सर्वशक्तिमान होइनौ र यदि रोक्न सक्छौ र रोकिरहेका छैनौ भने तिमी सर्वकृपालु छैनौ ।”
यो तर्क ईश्वरको लागि नयाँ थिएन, र उनले सधै यस कुराको विचार गर्न चाहेनन्, किनकि सर्वज्ञानी भएर पनि यस प्रश्नको जवाफ उनीसँग थिएन । दार्शनिकको भनाइअनुसार उनी ईश्वर भएर पनि दुई र दुईको जोड पाँच बनाउन सक्तैनथे ।
“हो, मलाई यस्तो ईश्वरमा विश्वास छैन” दार्शनिकले अन्तमा भनेको थियो, “जो सर्वशक्तिमान र सर्वकृपालु छैन ।”
ईश्वरले केही बोलेका थिएनन् ।
आखिर उनले ती तीन आत्माहरूलाई हेरे, जो कुनै आशामा अत्यन्त विनीत भावसँग उनका अगाडि उभिएका थिए ।
उनीहरूमध्ये एक आत्मा जाँनको थियो, दोस्रो मेरीको, र तेस्रो रूथको । उनीहरूले आफ्नो आफ्नो कथा सुनाए ।
जाँन र मेरी पाँच वर्षदेखि विवाहित थिए र सुखद दाम्पत्थ जीवन बिताइरहेका थिए । उनीहरूमा एकआपसमा प्यार थियो । तब जाँनको भेट रूथसँग भयो, जो अठार वर्षकी अतीव सुन्दरी, लावण्यमयी युवती थिई । जाँन उसलाई देख्नासाथ उसँग मोहित भयो । रूथको मनमा पनि उसको लागि प्यार पलाउन थाल्यो । यी दुईको त्यो प्रेम साधारण प्रेम थिएन । त्यो सुधबुध हराउने खालको प्रेम थियो । तर केही समयपछि ती दुवै सम्भालिए र उनीहरूले समाज र त्यसका मान्यताहरूबारे सोचे । जाँनलाई लाग्यो कि ऊ कसरी एक मासुम केटिलाई धोका दिन सक्छ र? र रूथले सोचिन् कि उसले किन एक विवाहित पुरुषसँग नाता गाँस्ने ? तब उनीहरूलाई यो महसुस भयो कि मेरीलाई उनीहरूको प्रेमबारे थाहा भएको छ ।
हो, मेरीलाई उनीहरूबारे थाहा भएको थियो । तब उसको मनमा आफ्नो पतिप्रतिको विश्वास र प्रेम अडिग भइ रहन सकेन, र उसको मनमा इष्र्या उब्ज्यो, जसको उसले कहिल्यै आशा गरेको थिइन, साथै उसको मनमा डर उब्जन थाल्यो कि कतै उसलाई लोग्नेले छाडोस् ? रिस उठ्न थाल्यो, किनकि उसको दिलको सम्पत्ति लुटिदै थियो, र उसको मनमा अनौठो भोकजस्तो उब्जन थाल्यो, जसले प्रेमभन्दा बढि पीडा दिने खालको थियो । उसलाई लाग्यो कि यदि उसलाई लोग्नेले छाड्यो भने ऊ मर्नेछे । तापनि उसलाई थाहा थियो कि जाँनले रूथसँग जानीजानी प्रेम गरेको थिएन बरु जाँनको रूथसँग आफसेआफ प्रेम भएर प्रेम गरेको थियो । त्यसकारण् उसको नजरमा जाँनको दोष थिएन । ऊ शक्तिको लागि इश्वरसँग प्रार्थना गर्थी र एकान्तमा एक्लै चुपचाप रोइरहन्थी । उसको स्वास्थ बिग्रिदै गयो ।
जाँन र रूथ यो सबै हेरिरहेका थिए । उनीहरूको मनभित्र सङ्घर्ष चलिरहेको थियो, जो लामो र पीडादायी सङ्घर्ष थियो । कैयौ पल्ट उनीहरूको मन डावाडोल हुन्थ्यो तर पनि उनीहरू त्यो प्रेमबाट मुख फर्काउन सक्तैनथे, जुन उनीहरूको मनमा सल्किरहेको हुन्थ्यो । उनीहरूले पापसँग सङ्घर्ष गरे र अन्तमा बिजय पाए । आखिर टुक्रिएको मनकासाथ आफू निर्दोष भएकोमा गर्व गर्दै ती दुई एक अर्कादेखि छुट्टिए ।
रूथले यति हदैसम्मको प्रेम गरेकी थिई कि उसले फेरि कसैसँग प्रेम गर्न सकिन, र आफ्नो मुटु पत्थर बनाएर इश्वरमा समर्पित भई परोपकार कार्यमा लागिन् । उसले रोगीहरूको सेवा गरिन् र गरिबको सहायता गरिन् । उसले अनाथालय खोलिन् र दीन हीनहरूको सहायता गर्ने संस्था स्थापना गरिन् । बिस्तारै बिस्तारै उनको सुन्दरता, जसबाट ऊ विमुख भएकी थिर्इृ, हराउदै गयो र उसको अनुहार पनि मनजस्तै पत्थरको भयो । तब उसको धर्म अरु बढि भयानक बन्यो, किनकि त्यसको आधार प्रेम नभएर तर्क थियो । साथै ऊ पनि निरङ्कुश र असहनीय भई ।
यसका साथै जाँन पनि अन्तरमन भित्रभित्रै दुःिख भएर मृत्यु पर्खिरहेको थियो । उसको निम्ति अब बाँच्नुका कुनै अर्थ थिएन । बिजेता बन्ने प्रयत्नमा उसको हार भएको थियो । अब उसको पत्नीप्रति घृणभाव मात्र रहेको थियो ,जसले उसलाई सधै बेचैन बनाउथ्यो । तापनि ऊ उसँग आदर र सहानुभूतिका साथ व्यवहार गथ्र्यो र उसको निम्ति एक पतिले गर्नुपर्ने सबैकुरा गथ्र्यो जो एक असल पतिको कर्तव्य हुन्थ्यो ।
मेरीले पनि एक सुशील, विश्वसनीय पत्नीको रूपमा आफ्ना पतिलाई साथ दिई । तर पनि उसले उसलाई क्षमा दिन सकिन । ऊ झर्किने र झगडालु स्वभावकी भई । ऊ पतिलाई यस्तो घोच्ने कुराहरू भन्थी जसको लागि ऊ आफैलाई पनि घृणा गर्थी । ऊ आफ्नो पतिको लागि ज्यान त्याग्न सक्थी तर अब यस्तो सोच्न उसका लागि असह्य थियो, किनकि ऊ असह्य यातना सहिरहेकी थिई जबकि जाँन कसैसँग प्रेमका आनन्द लिइरहेको थियो । तर अब उसको निम्ति मात्र होइन जाँन र रूथको निम्ति पनि जीवन निरस भइसकेको थियो र बितेको कुरा सकिइसकेको थियो । उनीहरूले पाप गरेका थिएनन् र पनि अब मरिसकेपछि आफ्नो कर्मको फल भोग्न प्रतीक्षामा उभिरहेका थिए ।
आफ्नो कथा सुनाइसकेपछि उनीहरू चुप लागे पनि चारैतिर स्तब्धता छायो ।
तब इश्वरले भन्न खोजे “जहन्नुममा जाऊँ !” तर यो शब्द उनको मुखबाट निस्केन । तब उनको आँखीभुइ खुम्चियो र उनले आफैसित सोधे ? के यसैको निम्ति सुर्यलाई अनन्त समुद्रमा प्रकाश गर्नु र बर्फको पहाडहरूमा चम्कनु भनेर भन्छु र? के यसैको लागि पहाडहरूमा बग्ने झरना खुशीले गाउँछ र साझको हावाले सुनौलो बालीनाली लहलहराउछ ?.... कहिले कही म सोच्छु कि तारा पोखरीको मैला पानीमा कति बढि चम्किन्छ !
त्यो समय तीनै आत्माहरू, आफ्नो दुःखले भरिएको कथा सुनाइसके पछि, केही हदसम्म सन्तोष अनुभव गरिरहेका थिए । उनीहरूको जीवन सङ्घर्ष अत्यन्त तनावपूर्ण थियो तापनि उनीहरूले आफ्नो कर्तव्य पूरा गरेका थिए ।
तब ईश्वरले बिस्तारो फुके जसरी मानिसहरू मोमबत्ति निभाउन फुक्छन् र त्यतिबेला नै ती तीनैवटा आत्माहरू गायब भए । यसप्रकार इृश्वरले उनीहरूलाई नष्ट गरि दिएका थिए ।
तब ईश्वरले भन्यो, “म कैयोंपल्ट यो सोचेर हैरान हुन्छु कि मानिसहरू किन यस्तो सम्झन्छन् कि म अनैतिक सम्बन्धहरूलाई यति महत्व दिन्छु । वास्तवमा मानिसहरूको यो कमजोरीलाई सधैं सहानुभूतिका साथ हेर्छु ।”
त्यसपछि उनले दार्शनिकतिर नजर फर्काए, जो आफ्नो प्रश्नको उत्तरको प्रतीक्षामा अहिलेसम्म उभिरहेका थिए , र भने :
“ तिमीले मान्नु पर्छ कि यो मौकामा मैले आफू सर्वशक्तिमान र सर्वकृपालु भएको प्रमाण पेश गरेको छु ।”

 
 * **


(नवनीत वर्षः ३२अङ्कः१२, दिसम्बर,१९८३ बाट अनुदित, २०७०जेठ २७)
http://kathaasansaarblogspot.com/

Wednesday, September 10, 2014

(लघु कथा) सर्वोत्कृष्ट कथा

(लघु कथा)
सर्वोत्कृष्ट कथा

सरण राई

मैले एउटा उत्कृष्ट कथा लेखेको छु । म त्यसलाई सर्वोत्कृष्ट कथा बनाउन चाहन्छु ।
मुड बन्नासाथ कम्प्युटरमै म त्यस कथाको परिमार्जन गरिरहन्छु । शब्दहरू मिलेन जस्तो लाग्छ, फेर्छु । कुनै बेला वाक्य नै बदल्छु । घटनाहरू बदल्छु । कागलाई मुजुरको प्वाँख लगाइदिए जस्तो हुन्छ ।
हेर्छु, चित्त बुझ्दैन । अर्को टाइप गर्छु । गम्छु— ‘अब मिल्यो ?’
‘अहँ, मिलेन ।’
म फेरि सुधार्छु । पढ्छु, गम्छु— ‘यो त जीवनको कथा भएन ।’
टाइप गरी सकेर 'माइक्रोसफ्ट वर्ड' बन्द गर्छु । कम्प्युटर सोध्छ ‘सेभ’ गरौ ? ‘येस’, ‘नो’ ।
म ‘नो’ छान्छु । घण्टौ लगाएर गरेको परिमार्जन नष्ट हुन्छ । फेरि परिमार्जन गर्छु । फेरि ‘नो’ छान्छु । यसरी यो कथाको परिमार्जन क्रम कहिल्यै नसकिने जस्तो छ । परिमार्जन नसकिएपछि प्रकाशित हुने कुरा भएन । त्यसै हुनाले सर्वोत्कृष्ट जीवनहरु झैँ यो सर्वोत्कृष्ट कथा हुनेछ ।

२०७१ साउन ३०, धरान