Saturday, November 19, 2011

(कथा) खराब सोचाई



सरण राई

बढि  भावुक कुनै कुनै समय म भई दिन्छु | असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ | अझ दिनभरी काम नहुँदा र बात  मार्ने साथी  नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म  आफैलाई समेत थाहा हुँदैन |
यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु | दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ |साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु | म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ |तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन | म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ |
केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए | मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहेको थिए , बेसुधमा निलेछु एउटा काडा साँच्चै गाडिएको महसुस गरें | घाटीमा होइन जिब्रोको जरामा जसलाई मैले निकै निकाल्ने प्रयत्न गरें , हरेस खाएर डाक्टरकहाँ पुगेपछी मात्रै छुटकारा पाए | कस्तो साक्षात सोचाई, त्यस्तै  आजको खराब सोचाई पनि साक्षात भयो भने  ....
केवल एक घण्टा !
मात्र एक घण्टाको मेरो जीवन |मेरा असख्य दायित्वहरु; एक घन्टाभित्र म के गर्छु ?
मेरा प्रियजनहरुको चेहरा  मेरो आँखामा झुल्किन्छ |मेरो प्रिय पत्नी, एक वर्ष  नपुगेको छोरो, भर्खर स्कूल जान लागेकी छोरी | बैंशले छाडेका मातापिता , भाईबहिनी सब ममाथि आश्रित छन् |आयु सिध्दिएको मृत्युको मुखमा भएको म उनीहरुलाई कस्तो शन्देस दिन्छु होला |
पत्नीलाई— मेरो अभावमा तिम्रो सुखमा बाधा नपरोस |तिमी विवाह अघि झैं स्वतन्त्र छौ, तर छोराछोरीलाई राम्रो लालन पालन गर्ने तिम्रो अभिभारा |
मातापितालाई— दु:ख नमान्नु नातिनातिनीको चेहरामा मेरो अपूर्णताहरु पूर्ण भएको हेरर सन्तोष गर्नु | भाईबहिनीलाई— सधैं उन्नति र श्रम गरेर जीवनको उज्यालोले धरतीलाई आलोकित पार्नु |
छोराछोरीलाई— आमालाई नसताउनु | मेरो अधुरो कामहरु पुरा गर्नु |मेरो हार्दिक कामना र आशिर्वाद |
साच्चै म यस्तै कामनाहरु व्यक्त गर्छु होला त |विवादास्पद कामनाहरु , म आफै शङ्का गर्छु  | म त्यति महान भएर त्यस प्रकारको कामना सायद गर्न सक्तिन | यदि गरिहालें भने पनि बाँच्नेहरुले मेरो
शन्देसको पालना गर्न सक्ने छैनन् र त्यसभन्दा बेग्लै प्रकारको इच्छा पनि सायद म व्यक्त गर्न सक्तिनँ |मेरो पत्नीलाई मैले स्वतन्त्रता दिएँ , सुख ब्रिध्दिको कामना साथै छोराछोरीको लालनपालनको अभिभारा सुम्पे तर्कसङ्गत छैन , व्यवहारमा साकार हुन् सक्तैन | त्यस्तै  अरूप्रतिको मेरो इच्छा पनि |
जसलाई पहिले आफ्नो मृत्युको निश्चितता थाहा भएको हुन्छ, उनीहरुले पनि यस्तै इच्छा व्यक्त गर्छन त | अँ ह मलाई थाहा छैन | बेग्लाबेग्लै इच्छा बेग्लाबेग्लै मानिसहरुले व्यक्त गरेका छन् जुन इच्छाहरुले वास्तवमा उनीहरुको जीवनको इच्छाको पूर्णताको झलक दिन सक्तैन | इच्छा, संदेश ,कामना  सधैं अधुरो हुन्छ जसमा गर्नेको आदर्श पूर्णतया प्रतिविम्वित हुन सक्तैन | आदर्श प्राप्ति त बाँचेर निरन्तर सङ्घर्ष गर्दा केहि अंश अंशमा प्राप्त हुने वस्तु हो | साँच्चै म पनि एकै घण्टा बाच्ने भए भने ...
बाँच्ने अभिलाषा , जीवनप्रति मोह , स्नेह, विरक्ति , खिन्नताको भावहरुले भरिएको मेरो चेहरालाई हेरेर मेरा प्रियजनहरुको आँखामा आँसु ढळपळ भएको देख्दा म यी सन्देशहरु सायद भन्न सक्तिन होला |अनि मलाई जीवनप्रति अगाध, असिम, अतुलनीय मोह उब्जेर एउटै मात्र चित्कार गर्न पुग्छु होला — मलाई बचाउ, म बाँच्न  चाहन्छु |
सायद म बाच्दिन भन्ने थाहा भएर पनि बाच्दिन वा बाँच्छु कि भन्ने आफ्नै विषयमा सोच्दा र बाँच्ने प्रयत्न गर्दागर्दै सायद अरु कसैको बारेमा सोच्ने पो सक्दिन कि ?आफ्नै बारेमा मात्र सोच्दासोच्दै मेरो प्राण पखेरु उडी हाल्छ कि ?....
म अझै कति वर्ष बाँच्छु , छि कस्तो दु:खदायी खराब सोचाई |


साभार
केही कथा केही कविता - (सम्बत २०३८ )

  • सरण राईका पुस्तकहरु १, अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह) , २. मानव संसार (उपन्यास ) , ३. साथी (निबन्ध सङ्ग्रह)
      पाइने स्थानहरु :- १. साझा पुस्तक पसलहरु
    २. कन्काई बुक , साझा भवन ,भोटाहिटी



जब घाम डुब्न लाग्छ




ध्वासे बादल रंगिन्छ जब घाम डुब्न लाग्छ |पश्चिमपट्टिको आकाश सधवाको सिउदो झैँ सिन्दुरे रंगले पोतिन्छ  |घाम गोलो सिन्दुरको डल्ला झैँ भएर डुब्न लाग्छ रातको आगमनको पुर्ब संकेत दिदै |ऊ  अस्ताउदै गरेको सूर्यलाई हेर्न चाहदैन तर फेरी हेर्छ जसले एक प्रकारको विरक्तिको भाव उसको अन्तष्करणमा उब्जाई दिन्छ |
अनेक प्रकारका बिचार, कल्पना र भावनाहरुले उसको अन्तष्करणको शान्ति खलबलिन्छ |द्वन्द्व मानसिक तिब्र द्वन्द्वभित्र पीडाको अनुभव उसलाई हुन थाल्छ |उसले लेखाजोखा गर्न थाल्छ दिनभरी उसले के के गरेको छ |
उपलब्धि केहि भएन , प्रयत्न र निस्क्रियतामा  केहि फरक नभएको देख्दा _ उसलाई लाग्छ ऊ फेरि  ठगिएको छ , उसले पाउनुपर्ने उपलब्धि पाएको छैन | उसले भोग्न सक्नुपर्ने सफलताको सुखबाट ऊ बन्चित भैरहेछ |असफलता _ निरन्तर असफलताले आशा र विश्वासको सहारामा अगाडी बढ्ने मानिसको जीवनमा निराशा,कुण्ठा र आत्मग्लानी को सृष्टि पनि गर्न सक्छ ...
आफ्नै नाम ; सुचना पाटीमा टासिएको सफल उम्मेदवारहरुको नामावलीको सूची मा सबै आफ्नै नाम
हेरिरहेका थिए | भीडमा ठेलमठेल गर्दै ऊ सुचना पाटि छेउ पुग्न सफल हुन्छ तर आफ्नो नाम ऊ फेरी सफल उम्मेदवारहरुको नामावलीमा पाउदैन | आशाको कल्पनामा बनिएको सपना फेरी एकपल्ट भत्केको  महसुस गर्दै  ऊ सपनाको रानीलाई भेट्न, उकुसमुकुस भएका भाव अभिव्यक्तिहरु पोख्न रानीको घरतिर लागेको हुन्छ |
'रानी , मेरा कुराहरुलाई स्विकार गर |'
'आधारहरुको अभावमा ?'
'तर स्विकार नगरे पनि अस्विकार नगरी हाल ; म आधारहरुको संकलन छिट्टै गर्नेछु | मलाई केहि
दिनहरु मात्र पर्खिदेउ |'
जीवन निर्वाहको निम्ति पेसाको छनोट गर्दा गर्दै केहि दिन बित्यो | सपनाको रानी ऊबाट टाढा  भइन् _ सम्पूर्ण संसार उजाड भएको जस्तो उसलाई लागेको थियो | ऊ एकपल्ट लोत्यो तर फेरी उठ्यो | ऊ जीवनको बाजी जित्न चाहन्थ्यो _ उसले सपनाको रानीलाई करैले बिर्स्यो |पेसाको छनोट गरिसकेपछि सपनाको होइन यथार्थको कटु पीडा , कष्ट झेल्दै दाम्पत्य जीवन सपनाको रानी बिना नै उसले आरम्भ गर्यो _जुन उसले गर्ने पर्थ्यो |
विगतका सम्झनाहरु पुराना घाउको टाटा झैं मात्र हुन्छ |अब सपनाले उसलाई पहिला झैं प्रभाव पार्दैन अनि पीडा दिदैंन | बरु एक प्रकारको मिठास दिन्छ तर प्यास होइन |
जुन भौतिक साधनहरुको अभावमा ऊ असफल भएको थियो, ती साधनहरु, आधारहरु ऊसित आज छ | आज ऊ उपलब्धिहरुको लेखाजोखा गर्दै छ _ ठोस  उप्लब्धिहरुको लेखाजोखामा ऊ फेरी असन्तुष्ट भएको छ |ऊ आफू  फेरि  एकपल्ट ठगीए  झैं लाग्छ आफुलाई असफल पाएर ,उपलब्धिहरुको सिडिमा चढ्दै सफलताको स्वर्गमा पुग्ने आकाङ्क्षा भत्केको देख्दा कालो भयङ्कर निराशाको खाडलमा डुब्दै गरेको ऊ अनुभव गर्न पुग्छ |सधै असफलता _ बिना उपजब्धि निरर्थक दिनहरु | डुब्न लागेको सूर्यलाई ऊ फेरि  हेर्छ _ अनायास उसका आँखाहरुबाट आँसु बग्छ |
ऊ हेरिरहन्छ मानौ त्यो डुब्दै गरेको सुर्य सुर्य नभएर उसले कैयौ दिनहरुको श्रमबाट संचय गरेको अनमोल जीवन हो_  यौवन हो |
निष्क्रियता मृत्यु हो | निरुद्देश्यता  रोग हो भने प्रयत्न जीवनको निम्ति बचाइरहने हावा , पानी  र भोजन हो |उसको प्रयत्नमा कुनै दोषहरु होला , त्यसैले ऊ उपलब्धि हाशिल गर्न असफल भै रहेको छ | उपलब्धि-जीवन उसको मष्तिस्कमा तर्क वितर्कको भुमरी  उठछ | अवस्य नै उसको आस्था , आराधना त्रुटिपूर्ण छ नभए हावामा हल्लाएको हातले पनि पंखाको काम गरेको हुन्छ |एकाग्र नभएर पनि एकाग्र भएर सोच्ने बानी उसलाई लागेको हुन्छ |उसको सोच्ने क्रम जारि भैरहन्छ |
भोलिदेखि ऊ एकाग्रसित सक्रिय  भएर ठोस उपलब्धि हाशिल गर्ने सशक्त प्रयत्न श्रम गर्नेछ | जीवन उपलब्धिद्वारा नापिन्छ , सत प्रतिसत सफलता कसैलाई प्राप्त हुँदैन | आजसम्मको उसको असफल जीवन भोलि झुल्कने घामसित सफल उपलब्धिमा परिणत गर्ने अठोट ऊ मनमनै गर्छ अनि ऊ डुबीसक्न आँटेको आजको घामलाई अन्तिम पटक हेर्छ |
हिजो पनि उसले यस्तै अठोट गरेको थियो भन्ने कुरा ऊ बिर्सिन्छ अनि भोलि घामसितै  झुल्कने सफल जीवनको आशा र कल्पनामा ऊ मुसुक्क मुस्कुराउँछ ..... |

साभार
केहि कथा केहि कविताहरु -(२०३८ साल)

    • Raj Chamling Kirati You are great dai.tapaibatko lekh books padhna napaepani eha fb ma kahilekahi padhnu paeyo.shuvakamana chha dai.
      September 21 at 6:58pm · · 1Loading...

    • Raj Chamling Kirati Manab sansar upanyas khoi vetiyena ta,khojnu lagako.tyo chahi maile padhnei parchha.
      September 21 at 7:01pm · · 1Loading..
  • सरण राईका पुस्तकहरु १, अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह) , २. मानव संसार (उपन्यास ) , ३. साथी (निबन्ध सङ्ग्रह)
      पाइने स्थानहरु :- १. साझा पुस्तक पसलहरु
    २. कन्काई बुक , साझा भवन ,भोटाहिटी

Monday, August 29, 2011

सरण राईको परिचय



  सरणको साहित्य -कथामा  भएका कथाहरु  सरण राईले  लेख्नु भएको हो  |


सरण राईको परिचय  

नाम - सरण राई  (पुरा नाम -सरणकुमार राई )
 जन्म स्थान -छिनामखु , भोजपुर 
जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९,/१३९ , सुनसरी , नेपाल 
फोन  न . ०२५ ५२०७४२ , मोबाइल - ९८४२०५५२६२
माता— शिवमाया राई  पिता— स्व. मछिन्द्रबहादुर राई
 
अनुभव— त्रिभुवन विश्वविद्यालयमा ३५वर्ष प्राध्यापन (सह प्राध्यापक), प्रधानाध्यापक भई निम्न माध्यमिक पाठशालामा २ वर्ष कार्य सम्पादन, विभिन्न सामाजिक संघ संस्थामा कार्य सम्पादन, विभिन्न राजनैतिक ,सामाजिक र साहित्यिक गतिविधिमा संलग्न  |

प्रकाशित  पुस्तकहरु -
१.  केहि कथा (कथा संग्रह )-- प्रकाशक - नयना थाङदेन र लक्ष्मी राई २०३८(हाल  बजारमा उपलब्ध छैन )
२.साथी  (निबन्ध संग्रह )- प्रकाशक - बिहानी प्रकाशन सहकारी संस्था लि २०६४...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )-  प्रकाशक  उपयोगी प्रकाशन २०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा संग्रह )- २०६६  साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५. उडान (युवा ) मनको    (इन्टरनेटमा मात्र प्रकाशित र इन्टरनेटमा नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेकाे )              http://saran-rai.blogspot.com/   
६.ओइलिने फूल (कविता सङ्ग्रह) २०७०
७.अन्तिम आयाम (कथा सङ्ग्रह) २०७४, पाँचपाेखरी प्रकाशन गृह न्यूराेड, काठमाडाैं  (फाेन नं.०१ ४२२१६३४)
८.नाैरङ्गी  एक सय एक लघुकथा  २०७६,
पाँचपाेखरी प्रकाशन गृह न्यूराेड, काठमाडाैं  (फाेन नं.०१ ४२२१६३४)                                                           

उक्त पुस्तकहरु  नेपालका सबै '"साझा पुस्तक पसल,पाँचपाेखरी प्रकाशन गृह न्यूराेड, काठमाडाैं  (फाेन नं.०१ ४२२१६३४) पाइन्छ  साथै उपयोगी प्रकाशन धरान , १९,मा सरणकुमार राईको घरमा  पनि पाइन्छ | 

Email--   raisaran50@gmail.com
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७ ९८४२०५५२६२